धादिङ । धादिङको धुनिवेशी नगरपालिका–६ मा रहेको टौरस फर्मा प्रा.लि.ले बाढी तथा विपद्का कारण प्रभावित पालिकाहरूलाई १६ प्रकारका औषधि सहयोग गरेको छ। धुनिवेशी नगरपालिका–६ का वडा अध्यक्ष रमेश प्रसाद आचार्यको पहलमा टौरस फर्माले धादिङका गल्छी गाउँपालिका, गजुरी गाउँपालिका तथा नुवाकोटको बेलकोटगढी नगरपालिकालाई क्याल्सियम, जीवनजल, सिटामोल, आइरन चक्की, जुका तथा ग्यास्ट्रिकलगायत १६ प्रकारका औषधि निःशुल्क उपलब्ध गराएको हो।
भदौ १० गते आएको बाढीजन्य विपद्पछि प्रभावित क्षेत्रमा थप स्वास्थ्य समस्या उत्पन्न हुन सक्ने अवस्थालाई मध्यनजर गर्दै औषधि सहयोग गरिएको टौरस फर्माका सञ्चालक आशिष अग्रवालले बताउनुभयो।
औषधि सहयोगका लागि वडा अध्यक्ष आचार्यले टौरस फर्माका व्यवस्थापक खडानन्द शर्मा र सञ्चालक अग्रवालसँग समन्वय गर्नुभएको थियो। आचार्यले बाढीपछि खाद्यान्न तथा अन्य राहत सामग्री वितरणमा ध्यान गए पनि प्रभावित क्षेत्रमा आवश्यक पर्ने औषधिको अभाव हुनसक्ने देखिएपछि औषधि उपलब्ध गराउन पहल गरेको बताउनुभयो।
“बाढीले प्रभावित विभिन्न स्थानमा राहत पुगेको समाचारमा सुनियो र देखियो। तर अब बाढीबाट थप स्वास्थ्य समस्या ननिम्तियोस् भन्ने विषयमा सोचेर औषधिका लागि पहल गरेको हुँ,” आचार्यले भन्नुभयो।
बाढीले नदी आसपासका क्षेत्रमा जनावरलगायत विभिन्न वस्तु बगाएर ल्याएको तथा कतिपय स्थानमा खानेपानीसमेत अवरुद्ध भएकाले संक्रमणजन्य स्वास्थ्य समस्या देखिन सक्ने उहाँको भनाइ छ। त्यसलाई ध्यानमा राखेर प्रभावित तथा नदी आसपासका बासिन्दालाई औषधिको अभाव हुन नदिन टौरस फर्मासँग समन्वय गरिएको उहाँले बताउनुभयो।
“हामीले यस्तो अवस्थामा सहजीकरण गरौँ, औषधि लिएर जाऔँ भनेर प्रस्ताव राख्दा उहाँहरूले पनि आफूहरूले सोचिरहेको विषय भएको बताउनुभयो,” आचार्यले भन्नुभयो, “अहिले सहयोग गरिएका पालिकामा मात्र नभई अन्य स्थानमा पनि यस्तै विपद् आए आवश्यकताअनुसार औषधि उपलब्ध गराउन सकिने उहाँहरूले जानकारी दिनुभएको छ।”
विपद्का बेला राहत भन्नासाथ चामल, चिउरा, चाउचाउलगायत खाद्यान्न तथा बस्ने–सुत्ने व्यवस्थालाई प्राथमिकता दिने गरिए पनि स्वास्थ्य सामग्री तथा औषधिको विषयमा पर्याप्त ध्यान नपुगेको आचार्यको भनाइ छ।
“सबैले राहत भन्नासाथ चाउचाउ, चामल, चिउरा, खाद्यान्न र बस्ने–सुत्ने कुरालाई मात्रै ध्यान दिए। औषधितर्फ कसरी कसैले ध्यान दिएन। कतिपय पालिका आफैँ हतारिएर औषधि किन्नुपर्ने अवस्था पनि देखियो,” उहाँले भन्नुभयो। विपद्पछि देखिन सक्ने स्वास्थ्य समस्यालाई समयमै सम्बोधन गर्न औषधिको उपलब्धता पनि राहतको महत्वपूर्ण पक्ष भएको उहाँले बताउनुभयो।