धादिङ । धुनिवेशी नगरपालिका–७, खानीखोलास्थित मच्छिन्द्र बहुमुखी क्याम्पसमा आयोजित लोक नृत्य प्रतियोगितामा डियर वाक धादिङ स्कुल प्रथम भएको छ । वडा दशैं, तिहार, नेपाल संवत् तथा छठ पर्वको अवसरमा आयोजित प्रतियोगितामा सहभागी विद्यालयका विद्यार्थीहरूले नेपाली मौलिक कला, संस्कृति र लोकपरम्परा झल्काउने विभिन्न नृत्य प्रस्तुत गरेका थिए । आकर्षक प्रस्तुति दिँदै डियर वाक धादिङ स्कुलले प्रथम स्थान हासिल गरेको हो ।
प्रतियोगितामा मच्छिन्द्र माध्यमिक विद्यालय, खानीखोला दोस्रो, ज्योति माध्यमिक विद्यालय, थाक्रे–९ तेस्रो र महाङ्कालेश्वरी माध्यमिक विद्यालय, थाक्रे–८, फोगटपुर चौथो भएका छन् । क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष माधवप्रसाद सिलवालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विजेता विद्यालय तथा सहभागीहरूलाई नगद पुरस्कारसहित सम्मानपत्र प्रदान गरिएको थियो ।
प्रतियोगिताले विद्यार्थीहरूमा रहेको प्रतिभा उजागर गर्नुका साथै नेपाली लोककला, संस्कृति र परम्पराको संरक्षण तथा प्रवद्र्धनमा समेत योगदान पु¥याएको आयोजकले जनाएको छ । विद्यार्थीहरूले प्रस्तुत गरेका विभिन्न मौलिक नृत्यले कार्यक्रमलाई सांस्कृतिक उत्सवकै रूपमा रोचक बनाएको थियो ।
क्याम्पस प्रमुख सिताराम कोइरालाले विद्यार्थीको प्रतिभा प्रस्फुटन र सांस्कृतिक चेतना अभिवृद्धिका लागि आगामी दिनमा पनि यस्ता रचनात्मक तथा सांस्कृतिक कार्यक्रमलाई निरन्तरता दिइने बताउनुभयो ।
सहायक क्याम्पस प्रमुख शेखर कार्कीले सञ्चालन गर्नुभएको कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, विद्यार्थी, अभिभावक, शिक्षक–शिक्षिका लगायतको सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।