धादिङ । हाइवे बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २१औँ स्थापना दिवसको अवसरमा आयोजित खुला रक्तदान कार्यक्रममा ७६ युनिट रगत संकलन भएको छ।
कार्यक्रममा १२ जना महिला र ६४ जना पुरुष गरी कुल ७६ जनाले रक्तदान गरेका हुन्। नेपाल रेडक्रस सोसाइटी भृकुटीमण्डप, काठमाडौं र नेपाल रेडक्रस सोसाइटी धादिङको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम सञ्चालन गरिएको संस्थाले जनाएको छ।
जिल्लामा देखिँदै आएको रगतको अभाव न्यूनीकरण गर्ने उद्देश्यले रक्तदान कार्यक्रम आयोजना गरिएको संस्थाका अध्यक्ष शिवबहादुर भण्डारीले जानकारी दिनुभयो।
स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा रक्तदाताहरूको सहभागिताले रक्तदानप्रतिको सामाजिक उत्तरदायित्व र मानवीय सेवाभावलाई थप प्रोत्साहन गरेको संस्थाले जनाएको छ।