हेटौंडा । बागमती प्रदेशको राजधानी हेटौंडामा नयाँ औद्योगिक क्षेत्रको शिलान्यास गरिएको छ। एक कार्यक्रमबीच संघीय सरकारका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले हेटौंडा उपमहानगरपालिका–१३ र १४ मा स्थापित मयूरधाप औद्योगिक क्षेत्रको शिलान्यास गरेका हुन्।
संघीय सरकारले २०७२ साल चैत १ गते मयूरधापको ३ सय बिघा जमिनमा नयाँ औद्योगिक क्षेत्र घोषणा गरे पनि जग्गाको भोगाधिकार विवादका कारण निर्माणकार्य अघि बढेको थिएन। सरकारले औद्योगिक क्षेत्रको नाममा जग्गाको लालपुर्जा दिए पनि पर्सा राष्ट्रिय निकुञ्जले आफ्नो क्षेत्राधिकारभित्रको जमिन भन्दै जग्गा उपयोगमा रोक लगाएको थियो। निकुञ्जसँगको सहमतिपछि आवश्यक पूर्वाधार निर्माणको काम अघि बढाउन शिलान्यास गरिएको हो। औद्योगिक क्षेत्र स्थापनाका लागि सरकारले दुई वर्षदेखि बजेट विनियोजन गरे पनि भोगाधिकार विवाद हुँदा बजेट फ्रिज हुँदै आएको थियो। अन्नपूर्ण दैनिकमा खबर छ ।