धादिङ । धादिङको विभिन्न पालिकाहरुमा बजार अनुगमन गरिएको छ । केहि दिन देखी नियमित रुपमा बजार अनुगमन गर्दै आईरहेको जिल्ला प्रशासन कार्यालय, घरेलु तथा साना उद्योग, उद्योग वाणिज्य सँघ, नेपाल पत्रकार महासँघ धादिङ लगायतको संयुक्त बजार अनुगमन टोलीद्वारा धुनिवेशी र थाक्रे गाउँपालिकाको खाद्यान्न पसलमा शनिबार अनुगमन गरिएको हो ।

टोलीले धुनीवेशी नगरपालिकाको धार्केमा रहेको आर एल स्टोर, श्रेष्ठ जनरल स्टोर, जेवी जनरल स्टोर, एच आर इन्टरप्राईजेज लगायत खानीखोलामा रहेको विष्णु इन्टरप्राईजेज, थाक्रे गाउँपालिकाको सिम्लेमा रहेको नेपाल किराना स्टोर लगायतका किराना तथा खाद्यान्न पसलमा अनुगमन गरिएको अनुगमन टोलीका सँयोजक तथा सहायक प्रमुख जिल्ला अधिकारी गोकर्ण प्रसाद उपाध्यायले बताउनुभयो ।

पसलहरु अनुगमन गर्दा ठूलो संख्यामा म्याद गुज्रेका सामानहरु बिक्री गरि आम उपभोक्ताको जीवनसँग खेलवाड गरेको पाइएको छ । यस्तै अधिकाँश पसलमा मुल्यसुची नराखिएको, मुल्यसुचि राखेपनि अद्यावधिक नगरिएको, सरसफाईमा ध्यान नदिईएको पाईएको छ । यस्तै केहि पसलहरुमा साईनवोर्ड नराखिएको पाईएको छ ।

शनिबार गरिएको अनुगमनको क्रममा पनि म्याद गुज्रिएका सामानहरु जफत गरिएको र केहि पसलहरुलाई जरिवाना गरिएको अनुगमन टोलीका सदस्य तथा घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख किशोर सापकोटाले बताउनुभयो ।
यसैगरी अधिकाँश पसलहरुलाई गल्ति सच्याउन अनुरोध गरिएको छ । आगामी अनुगमनका क्रममा पनि गल्ति भेटिए कानुन अनुसार कारवाही गरिने चेतावनी दिईएको छ ।

यो पनि पढ्नुहोस्..
गल्छि र थाक्रे गाउँपालिकाको खाद्यान्न तथा औषधी पसलमा अनुगमन, कुन पसललाई कति जरिवाना र जफत ?