धादिङ । धादिङबेसीमा रहेको लक्ष्मी बेकरी उद्योगलाई बजार अनुगमन टोलीले २० हजार जरिवाना गराएको छ । उपभोक्ता स्वास्थ्यप्रति हेलचेक्र्याइँ गरेको र अनुगमन कार्यमा असहयोग समेत गरेकोले रू. २० हजार नगद जरिवाना गरिएको अनुगमन टोलीका सँयोजक तथा सहायक प्रमुख जिल्ला अधिकारी गोकर्ण प्रसाद उपाध्यायले बताउनुभयो ।
बिक्रीस्थल बैशाख महिनामै अनुगमन भइसकेको भए पनि टेलिफोन र सामाजिक सञ्जाल मार्फत उपभोक्ताको गुनासो आएपछि उक्त उद्योगको उत्पादनस्थलमा अनुगमन टोली पुगेको थियो । संयुक्त बजार अनुगमन टोलीबाट आवश्यक कागजात, उत्पादनस्थल (उद्योग परिसर), उत्पादित आइटमहरु (आइसक्रिम र बेकरी) को अनुगमन गरिएको अनुगमन टोलीका सदस्य तथा घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख किशोर सापकोटाले बताउनुभयो । उहाँका अनुसार उद्योग दर्ता रहेको, नवीकरण भएको, कोभिड–१९ को स्वास्थ्य तथा सुरक्षा मापदण्ड पालना भएको र आइसक्रिम उत्पादनमा गुणस्तर कायम भएको पाईएको छ ।
यद्यपि बेकरी आइटम उत्पादन गर्नको लागि प्रयोग हुने मैदा (४ बोरा), कर्न फ्लोर (२ पाकेट), कोकोनट पाउडर (आधा पाकेट), फाइभ स्टार तेल (१०० लि.) लगायत अन्य म्याद गुज्रिएका सामग्रीहरु जफत गरिएको सापकोटाको भनाई छ ।
यस्तै म्याद गुज्रिएको सामग्री प्रयोग गरिएको आशंकामा उत्पादित बन पाउरोटी लगायत बेकरी आइटमहरु २ बोरा जफत गरिएको छ । साथै, उत्पादनस्थल लगायत त्यहाँ भएका मेसिनरीहरूको सरसफाई गर्न ३ दिन समय दिई उक्त अवधिमा कुनैपनि उत्पादन नगर्न निर्देशन गरिएको र आगामी दिनमा यस किसिमका हेलचेक्र्याइँ नगर्न सचेत गराइएको अनुगमन टोलीका सँयोजक तथा सहायक प्रमुख जिल्ला अधिकारी उपाध्यायले बताउनुभयो ।