शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

‘तिमीहरूले यसपटक पनि केही सिकेनौ ?’ प्रकृतिले फेरि सोध्नेछ !

‘तिमीहरूले यसपटक पनि केही सिकेनौ ?’ प्रकृतिले फेरि सोध्नेछ !

पुरुषोत्तम पाण्डे

३०, भाद्र २०८३
  • 6.4K
    SHARES
  • ‘तिमीहरूले यसपटक पनि केही सिकेनौ ?’ प्रकृतिले फेरि सोध्नेछ !

    बाढीले निम्त्याएको महाविपद्को यस दुःखद घडीमा एकपटक फेरि सबैलाई गाउँको याद आएको छ। मान्छेले हेपेर, बिर्सेर र छोडेर गएका डाँडापाखाका बस्तीहरू फेरि सम्झन थालिएका छन्। पुर्खाले दुःख–कष्ट सहेर थातथलो बनाएका गाउँठाउँको फेरि चर्चा हुन थालेको छ।

    images
    images

    विगतमा ‘पाखे’ भनेर हेपिएका गाउँलेहरू आफ्ना आफन्त र इष्टमित्रले बेँसी झरेर गुमाउनुपरेको पीडाबाट जति चिन्तित छन्, त्योभन्दा बढी खोला, नदी किनार र फाँटमा घरबास भएकाहरू त्रसित र आतंकित देखिन्छन्। बाढी र विनाशको भयावह दृश्य आफ्नै आँखाले देखेर बाँचेका मानिसका अगाडि अब एउटै प्रश्न उभिएको छ—अब कसरी जिउने ?

    कुनै पनि दिन, कुनै पनि क्षण फेरि यस्तै विपत्ति आइपर्ला कि भन्ने त्रासले नदी किनारका बस्तीलाई झस्काइरहेको छ। पाखा–पखेरातिर घर भएकाहरूमा भने कम्तीमा आफ्नो घर र परिवार सुरक्षित रहने हो कि भन्ने केही आशा पलाएको देखिन्छ।

    यो विपत्तिले हामीलाई बिनाश र आँसु सँगसँगै एउटा गम्भीर सवक र सन्देश पनि दिएको छ।

    महाप्रलयजस्तो बाढी र हाम्रो विकासको दृष्टि

    पुराणमा वर्णन गरिने महाप्रलयजस्तै देखिएको यो विनाशकारी बाढीले एउटा कठोर सत्य सम्झाइदिएको छ । मानिसले जीवनमा सबैभन्दा पहिले खोज्ने कुरा धन–सम्पत्तिभन्दा पनि आफ्नो र परिवारको सुरक्षा हो।

    हामीले विकासलाई सडक, घर, भवन, बजार र भौतिक सुविधासँग मात्र जोड्यौँ। तर विकासको पहिलो शर्त नै सुरक्षित जीवन हो भन्ने कुरा बिर्सियौँ।

    आज नदीले आफ्नो बाटो खोज्दा हामीले बनाएका घर, सडक, पुल, बजार र संरचनाहरूको कमजोरी एकैपटक देखिएको छ। प्रकृतिले आफ्नो बाटो बिर्सेको रहेनछ, बरु हामीले प्रकृतिको बाटो बिर्सेका रहेछौँ। प्रकृतिलाई हेपेर मिचेर जबर्जस्ती गरेका रहेछौँ।

    पुर्खाको अनुभव : ‘परेर जानेको ज्ञान’

    नेपाली समाजमा एउटा प्रचलित लोकोक्ति छ—‘कि पढेर जानिन्छ, कि परेर।’
    पढेर जान्नु सूचना, अध्ययन र अनुसन्धानबाट प्राप्त ज्ञान हो भने परेर जान्नु अनुभवबाट प्राप्त ज्ञान हो।

    हाम्रा पुर्खाहरू विश्वविद्यालयमा पढेका थिएनन् , तर हजारौँ वर्षको अनुभव, प्रकृतिसँगको संघर्ष र पुस्तौँपुस्ताको सिकाइबाट उनीहरूले आफ्नो जीवन जोगाउने ज्ञान आर्जन गरेका थिए।

    कहाँ घर बनाउने ?
    कहाँ खेती गर्ने ?
    कहाँ पानीको जोखिम हुन्छ ?
    कहाँ पहिरो जान सक्छ ?
    कहाँ बाढी पस्न सक्छ ?

    यी प्रश्नको उत्तर हाम्रा पुर्वजले पुस्तकमा होइन, प्रकृतिसँगको प्रत्यक्ष अनुभवबाट सिकेका थिए।

    सायद यही अनुभवको कसीमा खारिएर उनीहरूले आफ्नो थातथलो रोजेका थिए।

    पृथ्वीनारायण शाहको दिव्योपदेश र खेतीयोग्य जमिन

    आजभन्दा करिब तीन सय वर्षअघि जन्मिएका नेपाल एकीकरणका नायक पृथ्वीनारायण शाहले पनि भूमि उपयोगका सम्बन्धमा निकै अर्थपूर्ण दृष्टिकोण दिएका थिए।

    उनको दिव्योपदेशमा भनिएको छ की,

    “खानी भएको ठाउँमा गाउँ भए गाउँ अन्त सारी खानी चलाउनु, गरा बन्ने जग्गामा घर भए घर अन्त सारी कुलो काटी खेत बनाई आवाद गर्नु।”

    यसको आशय अहिलेको भाषामा बुझ्दा स्पष्ट हुन्छ—जहाँ खानी छ, त्यहाँ बस्ती भए बस्ती अन्यत्र सारेर खानी सञ्चालन गर्नू , जहाँ खेतीयोग्य गरा छ, त्यहाँ घरबस्ती भए घर अन्यत्र सारेर कुलो काटी खेत बनाई खेती गर्नू।

    अर्थात् खेतीयोग्य जमिनलाई आवासले ओगट्नु हुँदैन, उत्पादनका लागि उपयोग गर्नुपर्छ भन्ने दृष्टिकोण त्यतिबेलै देखिन्छ।

    बेँसी, फाँट र गरामा उत्पादन, सुरक्षित र उपल्लो डाँडामा घरबस्ती —भूमि उपयोगको यो सोच खासमा कृषि उत्पादनसँग मात्रै सम्बन्धित थिएन, यसमा भूगोल र जीवन सुरक्षाको व्यावहारिक चेतनासमेत जोडिएको देखिन्छ।

    दिव्योपदेश राजाको मुखबाट व्यक्त भएको भए पनि त्यसमा तत्कालीन नेपाली समाजको अनुभव, आवश्यकता र सामूहिक चेतनाको प्रतिबिम्ब देख्न सकिन्छ।

    पुर्खाको ईच्छा-सुखभन्दा पहीले सुरक्षा

    तल फाँटमा खेतीपाती गरेर थाकेको शरीर लिएर पुर्खाहरू सधैं गाउँ उक्लिन्थे।

    बेँसीमा उब्जिएको अन्न कष्टसाध्य तरिकाले घण्टौँ बोकेर डाँडापाखाका घरमा पुर्‍याउनुपर्थ्यो। गाउँमा पानीको सहज सुविधा थिएन। कतिपय ठाउँमा त दुई–तीन घण्टा लगाएर पानी ओसार्नुपर्थ्यो। जीवन निकै कष्टपूर्ण थियो।

    यति धेरै दुःख हुँदाहुँदै पनि उनीहरूले खोला, नदी किनार, खोल्सा, बगर वा जोखिमयुक्त बेँसीमा घर बनाएनन्।

    किन ?

    सायद उनीहरूलाई थाहा थियो—सुखभन्दा पहिले सुरक्षा चाहिन्छ।

    उनीहरूले सुविधाभन्दा सुरक्षित थातथलोलाई रोजे। पानी बोक्ने दुःख सहेर भए पनि बाढीले बगाउने जोखिम मोल्न चाहेनन्।

    तर हामीले उनीहरूको त्यो निर्णयलाई अर्कै ढंगले बुझ्यौँ।

    हामीले ठान्यौँ, हाम्रा पुर्खासँग ज्ञान थिएन, बुद्धि थिएन, त्यसैले गाउँमा बसे।

    हामीले गाउँमा बस्नुलाई दुःख र बेँसी झर्नुलाई सुखको पर्याय बनायौँ।

    जब गाउँ ‘पिछडिएको’ र बजार ‘प्रतिष्ठित’ बन्यो

    समयक्रममा मानिसहरू गाउँ छोडेर बेँसी झर्न थाले। खोला किनारमा घडेरी किन्न थाले। बगरमै पिलर हालेर भवन ठड्याउन थाले। भिर खोपेर घर बनाए। नदी किनारा, खोच, खोल्सा, बगर र पानी निकास हुने ठाउँसमेत बस्तीले भरिन थाले।

    वर्षातमा पानी बग्ने घोल, सिमसार र होचो भूभागसमेत प्लटिङ हुन थाले। घडेरी काटिए, बेचिए र ठूलाठूला बस्ती विस्तार भए।

    हामीले नदीले छोडेको खाली ठाउँलाई पनि घरबस्ती गर्ने ‘जग्गा’ देख्यौँ, तर त्यो ठाउँ किन खाली भयो भनेर सोधेनौँ। सोचेनौँ ।

    बदलिएको सामाजिक मानसिकता र प्रतिष्ठाको होड

    बेँसी झर्नु र बजारमा घर हुनु प्रतिष्ठाको विषय बन्न थाल्यो। बेँसीमा बस्ने मानिसलाई तुलनात्मक रूपमा धनी, आधुनिक र प्रगतिशील मानिन थालियो। गाउँमा घर हुनेहरूलाई भने पिछडिएका, गरिब वा अवसरबाट वञ्चित मानिसका रूपमा हेर्न थालियो।

    गाउँमा बस्नु भनेको पैसा नभएर वा बजारमा घर बनाउन नसकेर हो भन्ने मानसिकता विस्तारै विकास भयो।

    यसरी गाउँ भूगोलमा मात्र होइन, हाम्रो मानसिकतामा पनि हेपिन थाल्यो।

    यो मानसिकता यति गहिरो भयो कि यसको प्रभाव सामाजिक सम्बन्ध र बिहेवारीसम्म पुग्यो।

    गाउँमा बस्ने युवालाई विवाहका लागि कम प्राथमिकता दिने प्रवृत्ति बढ्यो। छोरीको विवाह गर्दा सकेसम्म बेँसी, सडक आसपास वा बजारमा घर भएको परिवार खोज्ने चलन बढ्दै गयो।

    अर्थात् घर कहाँ छ भन्ने कुरा बसोबासको मात्रै प्रश्न रहेन, सामाजिक प्रतिष्ठा र पारिवारिक हैसियतको मापदण्ड समेत बन्न पुग्यो।

    बजारमा घर हुनु ‘सम्पन्नता’को प्रतीक बन्यो भने गाउँमा घर हुनु ‘पिछडिएको’ पहिचानजस्तो बन्न पुग्यो।

    तर आज प्रकृतिले हामीलाई उल्टो प्रश्न गरिरहेको छ—

    सम्पन्नता भनेको सुरक्षित घर हो कि ठूलो घर ?
    प्रगति भनेको सुविधा हो कि सुरक्षित जीवन ?
    आधुनिकता भनेको प्रकृतिलाई जित्नु हो कि प्रकृतिलाई बुझ्नु ?

    हामीले सुख रोज्यौँ, पुर्खाले सुरक्षा

    पछिल्लो पुस्ता सुविधाको पछाडि दौडियो।

    घर अगाडि सडक चाहियो। बजार नजिक घर चाहियो। पानी धारामा चाहियो। विद्यालय, अस्पताल, बैंक, व्यापार सबै घरको छेउमै चाहियो। यी आवश्यकता गलत थिएनन्। समस्या कहाँ भयो भने सुविधा खोज्दा हामीले सुरक्षालाई पछाडि पारिदियौँ।

    पुर्खाहरूले जीवन कठिन भए पनि सुरक्षित ठाउँ रोजे। हामीले जीवन सहज बनाउन खोज्दा जोखिमपूर्ण ठाउँ रोज्यौँ।

    उनीहरू घण्टौँ हिँडेर पानी लिन तयार भए, हामीले पानी घरमै ल्यायौँ, तर त्यसका लागि असुरक्षित ठाउँमा घर ठड्यायौँ।

    बाबुबाजेहरू अन्न बोकेर उकालो चढ्थे, हामीले सडक घरको आँगनमै पुर्‍यायौँ, सडकसँगै नदीको जोखिम पनि घरको ढोकासम्म ल्यायौँ।

    उनीहरूलाई प्रकृतिको स्वभाव थाहा थियो।
    हामीलाई प्रविधिको शक्ति थाहा भयो।

    तर प्रकृतिको शक्ति बिर्सेर प्रविधिको शक्तिमा मात्र भरोसा गर्नु हाम्रो ठूलो भूल हुन गयो । विकास र उन्नतिको नाममा बिनाशको बाटो ढुक्न गएजस्तो हालत भयो ।

    बाढीले दिएको कठोर सवक र सिकाई

    आजको महाविपद् नितान्त प्राकृतिक विपत्ति मात्र हो भनेर पन्छिन मिल्दैन।

    प्रकृतिको प्रकोप आफ्नो ठाउँमा छँदैछ। तर कहाँ, कसरी र कति क्षति हुन्छ भन्ने कुरामा हाम्रो मानवीय निर्णय, कमजोरी र भू–उपयोगको गलत अभ्यासको पनि भूमिका हुन्छ।

    नदीको बहाव क्षेत्र मिचेर बनाइएका बस्ती, पानी निकासको प्राकृतिक बाटो थुनेर गरिएका निर्माण, बगर र खोल्सामा फैलिएका संरचना, जथाभावी प्लटिङ र जोखिमयुक्त भूभागमा गरिएका आवास विस्तारले विपत्तिलाई अझ भयावह बनाउन सक्छन्।

    यसैले अब हामीले राहत र पुनर्निर्माणसँगै पुनर्विचार पनि गर्नुपर्छ।

    बाढी आएको ठाउँमा फेरि उही ठाउँमा घर बनाउने कि सुरक्षित ठाउँ खोज्ने ?

    नदीले पटक–पटक आफ्नो बाटो सम्झाइरहेको ठाउँमा हामीले फेरि बस्ती बसाउने कि प्रकृतिको चेतावनीलाई सम्मान गर्ने ?

    खेतीयोग्य फाँटमा घर बनाउने कि खेतीका लागि जोगाउने ?
    यी प्रश्नको उत्तर आजै खोज्नुपर्छ।

    गाउँको साख फर्काउने कि फेरि बिर्सने ?

    बाढी आएपछि गाउँ सम्झिने र पानी घटेपछि गाउँ बिर्सिने हो भने यो विपत्तिबाट हामीले केही सिकेनौँ।

    आज डाँडापाखाका गाउँहरू फेरि सुरक्षित देखिन थालेका छन् भने त्यसलाई संयोग भनेर नहेरौँ। त्यहाँ हाम्रा पुर्खाको अनुभव, भूगोलको बुझाइ र जीवन जोगाउने चेतना पनि लुकेको हुन सक्छ।

    अब गाउँलाई ‘पाखे’, ‘पछौटे’ वा ‘गरिबको बस्ती’ भनेर हेर्ने मानसिकता बदल्नुपर्छ।

    गाउँमा सुरक्षित बस्ती, आधुनिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, सञ्चार र रोजगारी पुर्‍याउनुपर्छ। मानिसलाई सुविधा खोज्दै जोखिमयुक्त बेँसी र नदी किनारतिर बसाइँ सर्न बाध्य बनाउने होइन, सुरक्षित गाउँमै आधुनिक जीवनको अवसर सिर्जना गर्नुपर्छ।

    खेतीयोग्य फाँट खेतीकै लागि जोगाउनुपर्छ। नदीका प्राकृतिक बहाव क्षेत्रलाई सम्मान गर्नुपर्छ। अब सरकारले जोखिमयुक्त भूभागमा जथाभावी बस्ती विस्तार रोक्नुपर्छ।


    हाम्रा पुर्खाले दुःख सहेर सुरक्षित ठाउँ रोजे। हामीले सुख खोज्दा जोखिम रोज्यौँ।

    आजको बाढीले हामीलाई यही ऐना देखाएको छ।

    सायद अब समय आएको छ ,
    पुर्खालाई अशिक्षित र आफूलाई बुद्धिमान ठान्ने अहंकार त्याग्ने,
    गाउँलाई हेप्ने मानसिकता बदल्ने र विकासको परिभाषामा ‘सुविधा’सँगै ‘सुरक्षा’लाई पनि पहिलो स्थान दिने।

    बाढीले गाउँको सम्झना मात्र नदिलाओस्।

    गाउँको साख पनि फर्काओस्।
    पुर्खाको ज्ञान पनि फर्काओस्।
    र हाम्रो सोच पनि बदलोस्।

    प्रकृतिले फेरि सोध्नेछ !
    ‘तिमीहरूले यसपटक पनि केही सिकेनौ ?’

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र ३०, २०८३ मंगलवार - ०६:५५:५७ बजे

    पुरुषोत्तम पाण्डे

    लेखक पाण्डे समसामयिक विषयमा कलम चलाउँछन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology