फुर्केखोला पुल निर्माणको विषयमा छलफल गर्न बागमती प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेको नेतृत्वमा धादिङका पूर्वसांसदसहितको टोली पूर्वाधार विकास मन्त्रालय पुगे पनि मन्त्रीलाई भेट्न नपाई फर्किएको छ ।
टोली मंगलबार पूर्वाधार विकास मन्त्री सुनील लम्साललाई भेटेर फुर्केखोला पुलका विषयमा छलफल गर्नुका साथै ज्ञापनपत्र बुझाउन मन्त्रालय पुगेको थियो । पूर्वमुख्यमन्त्री पाण्डेका अनुसार टोलीले सोमबार मन्त्रालयका मन्त्रीका सल्लाहकार सन्तोष पाण्डेलाई भेटेर मन्त्रीसँग छलफलका लागि समय मागेको थियो । सल्लाहकार पाण्डेले मंगलबार बिहान ११ः३० देखि १२ बजेसम्म मन्त्रीसँग भेट्ने समय निर्धारण गरेको पाण्डेको भनाइ छ ।
तर, मंगलबार मन्त्रालय पुगेपछि भने आफूहरूले असहज अवस्था सामना गर्नुपरेको पाण्डेले बताएका छन् । उनका अनुसार सल्लाहकार सन्तोष पाण्डेले मन्त्रीका निजी सचिव ९पीए० प्रतीक श्रेष्ठलाई आफूहरूले मन्त्रीलाई भेट्न आएको जानकारी गराइसकेको भन्दै मन्त्रीको कार्यकक्षमा पठाएका थिए ।
प्रतीक श्रेष्ठलाई भेट्दा भने आफूलाई मन्त्रीसँग भेटको समयबारे जानकारी नभएको जवाफ दिएको पाण्डेको दाबी छ । त्यसपछि मन्त्रीलाई भेटाइदिन आग्रह गर्दा मन्त्री कार्यालयमा नरहेको र गइसकेको जवाफ दिइएको उनले बताए ।
पाण्डेका अनुसार टोली बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म मन्त्रालय परिसरमै रहे पनि मन्त्रीसँग भेट हुन सकेन । त्यसपछि पूर्वसांसदसहितको टोली सिंहदरबारबाट बाहिरिएको उनले जानकारी दिए ।
फुर्केखोला पुलको विषयमा मन्त्रीसँग प्रत्यक्ष छलफल गरी ज्ञापनपत्र बुझाउने उद्देश्यले आफूहरू मन्त्रालय पुगे पनि भेट हुन नसकेको पाण्डेको भनाइ छ ।