सोमवार, मंसिर ७ गते २०८३

Monday, Nov 23 2026 सोमवार, मंसिर ७ गते २०८३

फुर्केखोलामा तत्काल पुल निर्माण प्रक्रिया नथाले सडक सङ्घर्ष गर्ने चेतावनी

फुर्केखोलामा तत्काल पुल निर्माण प्रक्रिया नथाले सडक सङ्घर्ष गर्ने चेतावनी

नागरिक पाटी

७, मंसिर २०८३
  • 1.5K
    SHARES
  • फुर्केखोलामा तत्काल पुल निर्माण प्रक्रिया नथाले सडक सङ्घर्ष गर्ने चेतावनी

    धादिङको नीलकण्ठ नगरपालिकाका प्रमुख भीमप्रसाद ढुङ्गानाले फुर्केखोलामा बेलीब्रिज जडान र स्थायी सडक पुल निर्माणको प्रक्रिया तत्काल अघि बढाउन माग गर्नुभएको छ । उहाँले माग सम्बोधन नभए जनप्रतिनिधिसहित दबाबमूलक कार्यक्रममा जाने घोषणा गर्नु भएको छ ।

    images

    नीलकण्ठ क्याम्पसको २७ औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा नगरप्रमुख ढुङ्गानाले स्थानीय तहको पहलमा जडान भइरहेको पन्टुन पुल अस्थायी विकल्प भएकाले स्थायी पुल निर्माणमा ढिलाइ गर्न नहुने बताउनुभयो । पानीमाथि तैरिने उक्त पुल नदीको बहाव बढ्नुअघिसम्म मात्र सञ्चालन गर्न सकिने उहाँको भनाइ थियो ।

    नगरप्रमुख ढुङ्गानाले पोन्टुन पुल सञ्चालनमा आएपछि जिल्लाका १३ वटै स्थानीय तहका प्रमुख तथा उपप्रमुखको हस्ताक्षरसहित सङ्घ र प्रदेशका पूर्वाधारमन्त्रीलाई ज्ञापनपत्र बुझाउने बताउनु भयो । ज्ञापनपत्रमार्फत १५ देखि २० दिनभित्र मलेखुमा बेलीब्रिजका सामग्री ल्याउन र स्थायी पुलका लागि बजेट स्वीकृत गरी निर्माण प्रक्रिया अघि बढाउन समयसीमा दिने उहाँको भनाइ थियो ।

    माग सम्बोधन नभए जिल्लाका जनप्रतिनिधि सिंहदरबार पुगेर दबाब दिने तथा राजमार्गमा चरणबद्ध अवरोधसहितका कार्यक्रम अघि बढाउने सोच रहेको उहाँले बताउनुभयो । यस पहलको नेतृत्व लिन उहाँले धादिङ क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य बोधनारायण श्रेष्ठलाई आग्रह गर्नुभएको छ ।

    पोन्टुन पुलका सामग्री खोजी, ढुवानी र जडानमा स्थानीय तहका जनप्रतिनिधि तथा विभिन्न व्यक्तिको सहयोग रहेको नगरप्रमुख ढुङ्गानाले उल्लेख गर्नुभयो । पुल सञ्चालनमा आएपछि यात्रा सहज हुने भए पनि दीर्घकालीन समाधानका लागि स्थायी पुल आवश्यक रहेको उहाँले बताउनुभयो ।

    सोही कार्यक्रममा संसदीय सुनुवाइ समितिका सभापतिसमेत रहनुभएका श्रेष्ठले फुर्केखोलामा नयाँ पुल निर्माणका लागि प्रारम्भिक डिजाइनको काम भइरहेको जानकारी दिनुभयो । उहाँले पोन्टुन पुल सञ्चालनका लागि सुरक्षा परीक्षण र सञ्चालनसम्बन्धी व्यवस्था आवश्यक रहेको उल्लेख गर्दै तीन तहका सरकार तथा राजनीतिक दलबीच सहकार्यमा जोड दिनुभयो ।

    images
    images
    images
    images
    प्रकाशित मिति :मंसिर ७, २०८३ सोमवार - ०८:३०:३४ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology