काठमाडौं । आइतबार विश्वमा कोरोना संक्रमणका कारण ४ हजार ८२३ कोरोना संक्रमितको मृत्यु भएको छ । यो अघिल्लो दिनको तुलनामा केही कम हो । विश्व स्वास्थ्य संगठनका अनुसार शनिबार ६ हजार २७० कोरोना संक्रमितको मृत्यु भएको थियो । शुक्रबार ९ हजार ७५३ संक्रमितको मृत्यु भएको थियो ।
विश्वका २१६ देशमा फैलिएको कोरोनाका कारण हालसम्म ६ लाख ४० हजार १६ को ज्यान गइसकेको छ । संक्रमितको संख्या एक करोड ५७ लाख ८५ हजार ६४१ पुगेको छ ।
सुरुका केही समय अमेरिकन देशमा सबैभन्दा धेरै प्रभाव देखिएको कोरोना भाइरसको संक्रमण तुलनात्मक रुपमा अफ्रिकन देशमा कम फैलिएको थियो । यद्यपि पछिल्लो समय अफ्रिकन देशमा पनि कोरोना संक्रमण महामारीकै रुपमा फैलिएको विश्व स्वास्थ्य संगठनको तथ्यांकले देखाउँछ । दक्षिण अफ्रिकामा मात्रै दैनिक १४ हजारसम्म कोरोना संक्रमित थपिरहेका छन् । भारतमा कोरोना संक्रमितको संख्या तीव्र गतिमा फैलिरहेको छ ।