आइतवार, मंसिर १३ गते २०८३

Sunday, Nov 29 2026 आइतवार, मंसिर १३ गते २०८३

दशौँ राष्ट्रिय खेलकुदमा गल्छीका तीन खेलकर्मी रेफ्री तथा निर्णायकको भूमिकामा

दशौँ राष्ट्रिय खेलकुदमा गल्छीका तीन खेलकर्मी रेफ्री तथा निर्णायकको भूमिकामा

नागरिक पाटी

१२, मंसिर २०८३
  • 484
    SHARES
  • दशौँ राष्ट्रिय खेलकुदमा गल्छीका तीन खेलकर्मी रेफ्री तथा निर्णायकको भूमिकामा

    धादिङ । कर्णाली प्रदेशमा जारी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा धादिङको गल्छी गाउँपालिकाका तीन जना खेलकर्मीले रेफ्री तथा निर्णायक (आर्बिटर) को जिम्मेवारी पाएका छन्। प्रतियोगितामा धादिङ जिल्लाबाट विभिन्न खेल विधामा १८ जना खेलाडीसमेत सहभागी भएका छन्।

    images

    प्रतियोगिताअन्तर्गत तेक्वान्दो खेलमा गल्छीका तेक्वान्दो प्रशिक्षक तथा राष्ट्रिय रेफ्री सुब्बा श्रेष्ठले रेफ्रीको भूमिका निर्वाह गर्दैछन्। नेपाल तेक्वान्दो संघसँग आबद्ध श्रेष्ठ लामो समयदेखि तेक्वान्दो खेलको प्रशिक्षण तथा प्राविधिक क्षेत्रमा सक्रिय छन्।

    त्यस्तै, बुद्धिचाल (चेस) प्रतियोगितामा गल्छीकै सन्दीप घिमिरेले निर्णायक (आर्बिटर) को जिम्मेवारी पाएका छन्। विगत केही वर्षदेखि बुद्धिचाल खेलको आयोजना तथा प्राविधिक गतिविधिमा सक्रिय घिमिरे अन्तर्राष्ट्रिय चेस महासंघ (FIDE) बाट मान्यताप्राप्त अन्तर्राष्ट्रिय निर्णायक (FIDE Arbiter) हुन्।

    यसैगरी, गल्छीकै उमेश विडारीले फुटबल प्रतियोगितामा रेफ्रीको जिम्मेवारी सम्हालिरहेका छन्। लामो समयदेखि फुटबल रेफ्रीका रूपमा अनुभव हासिल गरेका विडारी फिफा रेफ्री हुन्।

    घिमिरे र विडारीको १७ वर्ष पुरानो फुटबल सहयात्रा

    यस प्रतियोगितामा संयोगको एउटा रोचक पक्ष पनि जोडिएको छ। अहिले फरक–फरक खेल विधामा निर्णायक तथा रेफ्रीको जिम्मेवारी निर्वाह गरिरहेका सन्दीप घिमिरे र उमेश विडारी करिब १७ वर्षअघि जिल्ला स्तरीय फुटबल प्रतियोगितामा एउटै टोलीबाट खेल्ने सहयात्रीसमेत थिए। त्यतिबेला विडारी गोलरक्षकको भूमिकामा रहन्थे भने घिमिरे टोलीको अन्तिम डिफेन्डर (फाइनल डिफेन्डर) का रूपमा मैदानमा उत्रिन्थे।

    समयक्रमसँगै उनीहरूको खेल यात्रा फरक दिशामा अघि बढे पनि खेलकुदसँगको सम्बन्ध भने कायमै रह्यो। कुनै समय एउटै टोलीबाट मैदानमा उत्रिएका उनीहरू आज राष्ट्रियस्तरको प्रतियोगितामा फरक–फरक खेल विधाको प्राविधिक जिम्मेवारीमा देखिनु आफैँमा रोचक संयोग बनेको छ।

    राष्ट्रियस्तरको महत्वपूर्ण खेलकुद प्रतियोगितामा धादिङ जिल्लाबाट मात्र नभई गल्छी गाउँपालिकाकै तीन जना खेलकर्मीले रेफ्री तथा निर्णायकको जिम्मेवारी पाउनु स्थानीय खेलकुद क्षेत्रका लागि गौरवको विषय बनेको छ। यसले गल्छी तथा समग्र धादिङको खेलकुद क्षेत्र खेलाडी उत्पादनमा मात्र सीमित नभई खेल सञ्चालन, व्यवस्थापन र प्राविधिक जनशक्ति उत्पादनमा समेत अघि बढिरहेको संकेत गरेको छ।

    दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा धादिङबाट सहभागी तीनै जना रेफ्री तथा निर्णायक गल्छी गाउँपालिकाका हुनु जिल्लाका लागि थप महत्वपूर्ण उपलब्धि हो।

    images
    images
    images
    images
    प्रकाशित मिति :मंसिर १२, २०८३ शनिवार - २१:४९:१५ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology